काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँगै हुने ठोकुवा गर्नुभएको छ । उहाँले चुनावमा जाने हैसियत अरु दलको नरहेको बताउनुभयो ।

एमाले बागमतीको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका कांग्रेससँगै प्रतिस्पर्धा रहेको तर जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताउनुभयो ।

उहाँले माओवादीको हैसियत एउटा वडा पनि जित्न नसक्ने रहेको बताउनुभयो । ‘एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दै गफ दिन थालेका छन, तिनका हैसियत चुनावपछि थाहा हुन्छ,’ ओलीले भन्नुभयो । उहाँले माओवादीले अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी अब महाधिवेशनमा जुटेको भन्दै महाधिवेशनले कार्यकर्तामात्र होइन जनतालाई समेत परिचालन गर्नुपर्ने बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको बताउनुभयो । ‘सरकारको ग्रास घटेको छ, चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ । अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो ।