कर्णाली । कर्णाली प्रदेशमा यसपालिको दसैँ शुरु भएदेखि यो अवधिभर सानाठुला गरी २१ सवारी दुर्घटना भएका छन् ।

दशै‌‌ अवधिभर प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायानाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायानाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । सो दुर्घटनाले सो नगरपालिका पुरै शोक डुब्यो ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् ।

मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा भएका एक/एक सवारी दुर्घटना भए । प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।