चितवन । चितवनमा पर्यटक बोक्ने बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट भरतपुर महानगरपालिका–७ विकास चोकमा पैदल हिँडिरहेका बालकको मृत्यु भएको हो ।
बसको ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले भने घटनास्थलबाट उद्दार गरेर भरतपुर अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको बताएको छ । प्रहरीले बालकको पहिचान खुलाएको छैन ।
विकास चोक बस्ने ४६ वर्षीया मामाघरकी हजुर आमा सूर्यकुमारी लामिछानेसँग बाटोमा हिँडिरहेका बालकलाई बसले ठक्कर दिएको हो । स्थायी घर माडी भएका बालक मामाघरमा बसेर पढ्दै आएका थिए । दुर्घटना देखेर बालककी हजुर आमा लामिछाने अचेत हुनुभएको छ ।
उहाँको शरीरमा बाहिरी चोट भने नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताउनुभयो । बस चालकलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।