काठमाडौं । उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिनुहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मन्त्रिपरिषद्मा आफ्नो कोटा मागेर हमाललाई मन्त्री बनाउनु भएको भन्दै कानून व्यवसायी, वुद्धिजीवी, राजनीतिज्ञदेखि सर्वसाधारणले समेत चर्को आलोचना भएपछि मन्त्री हमालले राजीनामा दिन लाग्नु भएको उहाँ निकटस्थ स्रोतले बताएको छ ।
‘किन व्यक्तिगत विवादमा फस्नु, साथीहरू, नेताहरूले त राजीनामा नदिनू भनिरहेका छन्, तर म आजै राजीनामा दिन्छु,’ मन्त्री हमालका आफन्तले उहाँको भनाइ उधृत गर्दै भन्नु भएको छ, ‘आलोचना धेरै भयो, विवादित भएर बस्दिनँ, राजीनामा दिन्छु, पत्रपत्रिका, सञ्चारमाध्यमलाई भनिदिए हुन्छ, नत्र फेरि शेरबहादुरजीले राजीनामा स्वीकृत गर्दैनन्। सञ्चारमाध्यममा आएपछि स्वीकृत गर्न बाध्य हुन्छन् ।’
हमाल शुक्रबार मन्त्री हुनु भएको थियो । सोही दिन भएको कानुन व्यवसायीको भेलाले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षतालाई लिएर प्रधानन्यायाधीश जबरामाथि प्रश्नचिह्न खडा भएको बताउँदै प्रधानन्यायधीस जवराले राजीनामा दिनुपर्ने नत्र संविधानको धारा १०१ अन्तर्गत महाभियोग लगाउनुपर्ने तर्क समेत गरेका थिए ।



















