हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज आइतबार सदनमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले मुख्यमन्त्री बनेको ५४औँ दिनमा प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ ।
दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लाग्नुभएको हो ।
१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रका २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।
गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाका २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ । बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनकाे तयारी छ ।