Margadarsan


  • विश्वका ५२ शक्तिपीठमध्ये छिन्नमस्ता पनि एक हो : पिठाधीश महाकान्त ठाकुर

    मार्गदर्शन २१ आश्विन २०७८, बिहीबार

    सप्तरीको छिन्नमस्ता मन्दिर यस भेगको निकै नै प्रसिद्ध मन्दिर हो । यहाँ दसैंको नवरात्रीमा विशेष पूजाआजा हुन्छ । जसले गर्दा दसैंभर दर्शनार्थीको भिड लाग्छ । छिन्नमस्ता मन्दिरको महत्व र सर्वसाधारणको विश्वासका विषयमा मन्दिरका पिठाधीश महाकान्त ठाकुरसँग सुधा देवले गरेको कुराकानी :

    दसैंको लागि कस्तो तयारी भइरहेको छ ?
    गत वर्ष महामारीका कारण मन्दिर आउने दर्शनार्थी एकदमै न्यून थिए । मन्दिरमा रौनक थिएन् । अहिलेको अवस्था सामान्य उन्मुख छ । व्यापार व्यवसाय खुलेका छन् । परिस्थिति सहज छ । दर्शनार्थीहरूको भाकल थाती राखिएको छ । त्यसैले यो वर्ष दोब्बर दर्शनार्थी हुने आँकलन छ ।

    यही आँकलन अनुसार तयारी थालेका छौं । सरसफाइ भइसकेको छ । सबैतिर बत्ती जडान गरिएको छ । भक्तजनको सुरक्षाका लागि चारैतिर सीसी क्यामरा जडान गरिएको छ । सुरक्षाकर्मी दोब्बर परिचालन गर्ने तयारी भइरहेको छ । माताको दर्शनका लागि पुजारीहरूलाई तालिम दिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै लाइन लगाएर दर्शनको व्यवस्था गरिनेछ ।

    बाहिरबाट आउने भक्तजनको लाागि बस्ने कोठा, शौचालय र सफा पानीको व्यवस्था, गाडी पार्किङको व्यवस्था गरिएको छ । मन्दिर प्राङ्गणमा कुनै पनि किसिमको असुविधा छैन । यसपालि भक्तजनले सहज रुपमा दर्शन गर्न पाउने विश्वास छ ।

    छिन्नमस्तामा अन्य बेलाभन्दा दसैँमा किन बढी भिड हुन्छ ? 
    माताको दरबारबाट आजसम्म कोही निराश भएर गएका छैनन् । यही कारण सबैलाई माताप्रति विश्वास छ । माताको महिमा अपरम्पार छ ।

    दसैंको नवरात्रीमा सबै शक्तिपीठहरूमा भिडभाड हुने गर्छ । विश्वका ५२ शक्तिपीठमध्ये छिन्नमस्ता भगवती पनि एक हो । ३१ वटा सिद्धपीठमध्ये यो पनि एक हो । यसलाई महिषासुर मर्दनीसिद्धपीठ पनि भनिन्छ । मन्दिरमा मनोकामना गर्दा पूरा हुने भएकोले छिमेकी देश भारतबाट समेत भक्तजनहरू आउँछन् । यस्तै विजया दशमीमा धेरै दिन बिदा हुने भएकाले पनि टाढा-टाढाबाट माताको दर्शन गर्न र वली चढाउन धेरै भक्तजन आउने गर्छन् ।

    मन्दिरमा भक्तजनले गर्ने फुलाइस र कुमारी भोजनबारे प्रष्ट पारिदिनुहोस् न ? 
    मन्दिरमा गरिने फुलाइसमाथि सबैभन्दा बढी महत्व र विश्वास छ । फुलाइसमा भक्तजनहरू चोखो भई माताको मुर्तिअगाडि आफूले इच्छा गरेको वरदान मागेर उभिनुपर्छ । पुजारीले माताको मुर्तिमा फूल राखी दिन्छ र यही बेला महिलाले आँचल र पुरुषले दुई हात जोडेर थाप्नुपर्छ । इच्छाएको वरदान चाँडै प्राप्त हुने भए माताले केही बेरमै फूल दिनुहुन्छ । होइन भने दिनभरि उभिँदा पनि दिनुहुन्न । दिनभर उभिँदा पनि फूल नदिए अर्कोपटक आएर त्यसैगरी माताको अगाडि फूल माग्नुपर्छ । दोस्रोपटक भने माताले फूल दिनुहुनेछ ।

    यस्तै महिनावारी नभएका कुमारी कन्यालाई मन्दिर परिसरमा भोजन गराउने कार्य कुमारी भोजन हो । कुमारी भोजन घटस्थापनादेखि विजया दशमीसम्म धेरै नै खुवाउने चलन छ । परापूर्वकालमा छिन्नमस्ता भगवती यहीँ गाउँमा बसोबास गर्ने कुमारी कन्यासँग खेल्नुहुन्थ्यो, भोजन गर्नुहुन्थ्यो । त्यसैले मन्दिर परिसरमा कुमारीलाई भोजन गराए भगवती स्वयंले भोजन गरेर चिताएको पूरा हुने जनविश्वास छ ।

    घटस्थापनादेखि विजया दशमीसम्म यहाँ एक लाखभन्दा बढी वली हुने गर्छ । तर, रगत बगेर जम्मा हुने पोखरी किन रातो हुँदैन ? 
    यहाँको पोखरी कसले कहिले खनाएको हो कुनै इतिहास छैन । राजा सक्रसिंहले जंगल सफा गर्ने क्रममा पोखरी र पोखरीको डिलको गुफामा छिन्नमस्ता भगवती भेट्नु भएको किम्वदन्ती छ ।

    छिन्नमस्ता मन्दिरमा दिनहुँजसो वली चढ्छ । तर विजया दशमीको घटस्थापनादेखि टिकाको दिनसम्ममा एक लाखभन्दा बढी बढी वली चढ्छ । वली चढाएको खसीबोकाको सबै रगत मन्दिर परिसरमा रहेको पोखरीमा गएन भने मनोकामनामा अड्चन आउने मानिन्छ । पोखरीमा रगत गए पनि पानी रातो नहुनुको कारण भने सिद्धपीठ र शक्तिपीठकै कारण हो ।

    मन्दिरमा कस्ता समस्या छन् ?
    राजविराजदेखि छिन्नमस्ता मन्दिरसम्म जाने बाटो तत्काल मर्मत गर्नुपर्ने अवस्था छ । साथै यहाँको बजार व्यवस्थापन गर्न पनि कठिन भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया