काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक ३ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीले गत ५ वैशाखमा नेपाल धितोपत्र बोर्डबाट कुल एक करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।