काठमाडौँ । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ ।
प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्य अनुसार काम भएको खण्डमा चालू आवमा नै थप एक हजार ३०० मेगावाट बढी बिजुली उपलब्ध हुन्छ । त्यसो हुँदा प्रणालीमा तीन हजार ३०० मेगावाट बराबरको बिजुली प्रवाह हुन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल रातको समयमा झण्डै ४०० मेगावाट बिजुली जगेडामा रहेको छ । यसो भन्नुको अर्थ खेरगइरहेको छ । यस्तै दिनको समयमा पनि झण्डै २५० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ । प्राधिकरणले बढी भएको बिजुली भारत निकासीको प्रयास पनि नगरेको होइन । तर, नेपालमा आउन दिने, भारतमा निकासी हुन नसकेको अवस्थामा प्राधिकरणले देशभित्रै बिजुलीको खपत बढाउन लागेको हो ।
जानकारका अनुसार एक युनिट बिजुली लगानी गर्दा झण्डै रु ९० देखि रु १०० बराबरको आर्थिक उपार्जन हुन जान्छ । यस आधारमा बिजुलीलाई कच्चापदार्थको रुपमा समेत लिइन्छ । उद्योगी व्यवसायीका अनुसार बिजुलीको सहज उपलब्धताले अर्थतन्त्रमा बहुआयमिक प्रभाव पर्दछ । प्राधिकरणले अव १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने भएको छ । त्यसका लागि के कति मात्रामा बिजुली चाहिएको हो भनेर आवेदन दिन समेत भनिएको छ ।
वर्षाको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर भइसकेको छ । आगामी डेढवर्षभित्र हिउँदमा समेत आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । प्राधिरकणले हाल वर्षाको समयमा देशमा विद्युत्को मागभन्दा उत्पादन बढी भई खेर जाने अवस्था सिर्जना भएको भन्दै उद्योगीलाई थप बिजुली उपलब्ध गराउन सकिने उल्लेख गरेको छ । प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण गरिरहेकाले १३२ केभीलाई पनि वितरण लाइनमा विस्तार गर्न चाहेको हो । यही असोज १४ गते विद्युत् विकास विभागले आयोजना गरेको विद्युत् महसुलसम्बन्धी सार्वजनिक सुनुवाइका क्रममा समेत कार्यकारी निर्देशक घिसिङले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगीलाई गुणस्तरीय बिजुली उपलब्ध गराइने बताउनुभयो ।
बिजुलीको सहज उपलब्धता बढ्दै गई आत्मनिर्भर बनेको अवस्थालाई ध्यानमा राखेर देशभित्रै बिजुलीको खति बढाउन कार्ययोजनाका साथ अगाडि बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । त्यस्तै देशका विभिन्न औद्योगिक सहरमा माग अनुसारको थप बिजुली उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन तथा सवस्टेशनको विस्तारलाई व्यापक रुपले अगाडि बढाइएको छ । सबै प्रकारका ग्राहकलाई क्षमता वृद्धि वा थप बिजुली माग भएमा सरल र सहज हिसाबले शीघ्र उपलब्ध गराउनेगरी व्यवस्था मिलाइएको छ ।
आयोगको सुनुवाइका क्रममा व्यवसायी एवं एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले विदेश निर्यात गर्नुभन्दा देशभित्रै थप बिजुली उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । उहाँले प्राधिकरणले थप बिजुली उपलब्ध गराए आफूहरु लिन तयार रहेको बताउनुभएको थियो । सोही आग्रहका आधारमा प्राधिकरणले ठूला औद्योगिक ग्राहकलाई थप बिजुली दिन लागेको हो । प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनको आसपासमा विद्युत् माग गरेमा तत्काल उपलब्ध गराइने उल्लेख गरेको छ ।
सकेसम्म प्राधिकरणको प्रसारण तथा वितरण लाइन एवं सवस्टेशन भएको स्थानबाट नजिक उद्योग स्थापना गरी आवश्यक विद्युत माग गर्न भनिएको छ । प्रसारण लाइन एवं सवस्टेशनबाट टाढा भएमा कहिलेसम्ममा के कति मात्रामा बिजुली चाहिने हो यर्थाथ विवरण खुलाई तत्काल माग गर्न समेत प्राधिकरणले आग्रह गरेको छ । प्राविधिक दृष्टिकोणबाट सम्भव भएका स्थानबाट तत्काल र प्राविधिक दृष्टिकोणबाट तत्काल सम्भव नभएका स्थानमा प्राधिकरण थप लाइन तथा सवस्टेशन विस्तार गर्न पनि तयार रहेको जनाएको छ ।
त्यस्ता स्थानमा छिटो भन्दा छिटो बिजुली आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उद्योगीका अनुसार थप ५०० देखि ८०० मेगावाटसम्मको थप बिजुली माग रहेको छ । त्यसमा सबैभन्दा बढी सिमेन्ट र छड उद्योगले थप माग गरेको अवस्था छ । प्रसारण लाइन निर्माण नभएका काराण चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगले बिजुली पाउन सकेको छैन । सो उद्योगले मात्रै ८० मेगावाट माग गरेको अवस्था छ ।
यस्तै, अन्य सिमेन्ट उद्योगले पनि क्षमता वृद्धिका लागि बिजुली माग गरेका छन् । बाह्य बजार खोज्दै हिँड्नु भन्दा देशभित्रै बिजुलीको बजार खोज्न प्राधिकरण लागिपरेको छ । कार्यकारी निर्देशक घिसिङले माग अनुसारको बिजुली उपलब्ध गराउनका लागि आफूहरु तयार रहेको बताउनुभएको छ । (रासस)