काठमाडौँ । साहस उर्जा लिमिटेडकोे आईपीओ आइतवार बाँडफाँट भएको छ। विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६ लाख ४४ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् ।
कम्पनीको आईपीओ खरीदका लागि कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ। कुल आवेदकहरुमध्ये २३ लाख ८३ हजार ४६० जनाको मात्र आवेदन रितपूर्वक देखिएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।
रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो। कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविवद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनको कुल लागत रू. ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । हाल आयोजनाको ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीको भनाइ छ ।