काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले नागरिकता र सम्पतीको अधिकार स्थापित गर्ने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा आचार्यले ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको भन्दै यसलाई सुधार गर्ने बताउनुभयो । उहाँले संस्थाभित्र आर्थिक अनियमितता र दुरुपयोग राक्ने धारणा राख्नुभयो ।
कोभिड–१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको भन्दै उहाले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको जानकारी दिनुभयो । उहाले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै यसलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो ।
एनआरएनएको दशौं विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित हुनुभएको थियो ।