काठमाडौँ । १८ वर्षमुनिका बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप नेपाल आउने भएको छ । १८ वर्षभन्दा माथिका नागरिकलाई मात्र खोप लगाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि पनि चाँडै यस्तो खोप ल्याउने तयारी गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार आगामी पुस मसान्तभित्र खोप ल्याइसक्ने योजना छ। १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि कोरोनाविरुद्ध खोप खरिदको प्रक्रिया अघि बढाइसकिएको मन्त्रालयका अधिकारीले बताएका छन् । ४० लाख मोडर्ना र थप फाइजरका खोप केही महिनाभित्रै आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए ।
मन्त्रालयका अनुसार हालसम्म नेपालका १८ वर्षभन्दा माथिका ६० लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा तथा ५५ लाखभन्दा बढी नागरिकले दुवै डोज लगाइसकेका छन् ।