काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले आन्दोलनमा सहभागी हुनेलाई पक्राउ गरेर जेलमा राख्ने तर आन्दोलनका क्रममा ‘जलाऊ, जलाऊ, ठोक’ भन्दै उक्साउनेहरू सांसद र मन्त्री बन्ने अवस्था रहेको भन्दै सरकारसँग प्रश्न गरेका हुन्।
‘जेनजीको सपना पूरा गर्छु भनेर सरकारमा आउनुभएको हो। त्यही आन्दोलनमा सहभागी हुनेहरूलाई “जलाऊ, जलाऊ, ठोक” भन्नेहरू सांसद–मन्त्री हुने, अनि त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने ? के हो यो, के समस्या हो ?’ उनले प्रश्न गरे।
राईले जेनजी आन्दोलन परिवर्तनका लागि भएको हो वा आपराधिक घटना हो भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। अब पनि राजनीतिमा झूट बोलिए जनताले विश्वास नगर्ने भन्दै उनले आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरकारको धारणा माग गरे।
भ्रष्टाचारका मुद्दामा पक्राउ गर्ने र त्यसपछि छाड्ने क्रम बढेको भन्दै उनले सरकारको सुशासनमाथि पनि प्रश्न उठाए।
‘आज पक्रिन्छ, भोलि छोडिदिन्छ। के गरेको यो ? कस्तो किसिमको सुशासन हो यो ?’ उनले प्रश्न गर्दै सरकारलाई भ्रष्टाचारका घटनामा प्रभावकारी कारबाही गर्न चुनौती दिए।
सरकारमा रहेका व्यक्तिहरूले लोकप्रियताका लागि विभिन्न घोषणा गर्दै हिँडेको आरोप लगाउँदै राईले राजदरबार हत्याकाण्डको फाइल खोल्ने भनिएको विषय कहाँ पुग्यो भनेर प्रश्न गरे। उनले गिरिबन्धु टी–स्टेट र वाइडबडी प्रकरणको अनुसन्धान तथा कारबाहीबारे पनि सरकारको जवाफ मागे।
राईले भ्रष्टाचार नियन्त्रण र राष्ट्र निर्माणका लागि आवश्यक परे आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए।
‘भ्रष्टाचारीलाई कारबाही गर्न दुई तिहाइ चाहिएको हो भने भन्नुस्, श्रम संस्कृति पार्टी राष्ट्र निर्माणका निम्ति भ्रष्टाचारीलाई थुन्न सहयोग गर्न तयार छ। त्यसका लागि हामी सरकारमा हुनुपर्दैन,’ उनले भने।




















