काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार कानुनी शासन, अर्थतन्त्र र विपद् व्यवस्थापनका तीनै क्षेत्रमा कमजोर देखिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले आफ्नो शक्ति र संवैधानिक सीमाको बोध गर्न नसकेको टिप्पणी गरे। उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै मुख्यतः तीन विषयलाई आधार बनाएका हुन्।
पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न
आङदेम्बेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनालाई लिएर सरकारसँग जवाफ मागे। जबरा असोज ११ गते पक्राउ परेको र त्यसको कारण तत्काल सार्वजनिक नगरिएको विवरण सार्वजनिक भएको थियो।
‘राज्यले विधिको शासनलाई बिर्सेर शक्तिको तुजुक देखाउन मिल्दैन। सरकारले यस घटनाको सत्यतथ्य छानबिन गरी संसद्लाई स्पष्ट पार्नुपर्छ, यो सरकारको संवैधानिक दायित्व हो,’ आङदेम्बेले भने।
अर्थतन्त्रप्रति चिन्ता
उनले लगानीमैत्री वातावरण बनाउनुको सट्टा निजी क्षेत्रलाई तर्साउने प्रवृत्तिले आर्थिक गतिविधिमा असर परेको दाबी गरे। महँगी र कालोबजारीका कारण नागरिकको दैनिकी प्रभावित भएको भन्दै उनले चाडपर्वको समयमा समेत सरकार उदासीन देखिएको बताए।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको उल्लेख गर्दै उनले सरकार भाषणमा मात्र सीमित हुन नहुने बताए।
‘पूँजी निर्माण हुन नसक्दा रोजगारी सिर्जना रोकिएको छ, जसको प्रत्यक्ष असर आम नागरिकको भान्सासम्म परेको छ,’ उनले भने।
विपद् व्यवस्थापनमा प्रश्न
आङदेम्बेले विपद्का बेला प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाए।
‘विपत्ति आउँदा नीति होइन, सरकारको उपस्थिति खोजिन्छ तर प्रभावित क्षेत्रमा सरकार हराएको महसुस भइरहेको छ,’ उनले भने, ‘रसुवा वा बाढी प्रभावित अन्य क्षेत्रमा सरकारको कार्यक्षमता कमजोर देखिएको छ।’
उनले पूर्वाधार विकासमा शिलान्यास मात्र गर्नेभन्दा समयमै आयोजना सम्पन्न गर्ने कार्यशैली आवश्यक रहेको बताए। पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती र बेथिति तत्काल सुधार गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।




















