Margadarsan


  • राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको उपलक्ष्यमा ९०३ जनालाई मानपदवी र विभूषण प्रदान

    मार्गदर्शन ३ आश्विन २०७८, आईतवार

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातौँ संविधान दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा योगदान पु-याउने ९०३ जनालाई विभिन्न मानपदवी तथा विभूषणबाट सम्मान गर्नुभएको छ । उहाँले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने महानुभावहरुलाई सम्मान गर्नुभएको हो ।

    नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभयो ।
    राष्ट्रपति भण्डारीद्वारा नेपाल रत्न एक, राष्ट्र गौरव दुई, महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँच, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४,  सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार, नेपाल सेवा प्रवीण दुई, समाजसेवा रत्न २१, नेपाल प्रताप सुभूषण ३४,  अतिपौरख भास्कर सात, नेपाल प्रताप आभूषण २४, महापौरख भास्कर तीन र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिएको छ ।

    राष्ट्रपति भण्डारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन, सुकीर्ति पदक १०, सगरमाथा पदक सात, वीरता पदक सात, विकासरत्न पदक एक र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौजनालाई प्रदान गर्नुभयो ।

    राष्ट्रपति भण्डारीले सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गर्नुभयो ।

    यस्तै राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक पूर्वप्रधानमन्त्री झलनाथ खनाल र स्वर्गीय सुवर्ण शमशेर जबरालाई प्रदान गरिएको छ । यस्तै,  अन्य ठूला पदक पाउनेमा स्व मंगलादेवी सिह,  मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी,  भीमदत्त पन्त,  भूविक्रम नेम्वाङ,  रानुदेवी अधिकारी,  भक्तराज आचार्य,  सन्तोष शाहलाई उपल्लोस्तरको पदक प्रदान गरिएको छ ।

    बाग्मती सफाइ अभियन्ता माला खरेल,  वरिष्ट कार्टुनिस्ट रविन सायमी,  खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ,  गायिकाहरू देविका प्रधान र विष्णु माझी,  अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल,  कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा शेरबहादुर पुन र डा रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिएको हो ।

    गायकहरू हेमन्त शर्मा,  प्रकाश सपुत,  नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिएको छ । यस्तै पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर,  एसिडपीडित मुस्कान खातुन,  तेजिया फौजा मगर,  यौनिक अल्पसंख्यक अभियन्ता भूमिका श्रेष्ठ,  पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपूर्ण विभूषण प्रदान गरिएको छ ।

    निजामती,  जंगी,  प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी,  प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिएको छ ।

    यस्तै विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया