काठमाडौँ । मलेसियाबाट आज १८ जना नेपालीहरुको शव नेपाल ल्याइएको छ । रोजगारीको सिलसिलामा मलेसिया काम गर्दा विभिन्न कारणले मृत्यु भएका ती नेपालीहरुको शव नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको हो ।
गए राति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका १ जनाको भने अस्तुमात्रै ल्याइएको छ । शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको वातावरण नै भावुक बनेको थियो ।
मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा शव ल्याएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज पठाइएको बताएको छ ।