काठमाडौं । पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।
लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना बेपत्ता रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो । यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।