पोखरा । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै सोमबार पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।
वर्षौदेखि खनजोत एवं उपयोग गर्दै आएका किसान, पुस्तौदेखि १ आना जग्गासमेत नभएका सुकुम्बासीलाई जग्गाको मालिक बनाउने लक्ष्य साथ काम गरिरहेको आयोग खारेजीको विरोधमा हस्ताक्षर संकलनमा गरिएको किसान महासंघ कास्की अध्यक्ष रघुनाथ भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्यहरू टीका अधिकारी, चूडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्च कास्की अध्यक्ष प्रेमबहादुर गुरुङसहितको टोलीले प्रधानमन्त्री समक्ष पुर्याउन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई संकलित हस्ताक्षर बुझाएको हो । हस्ताक्षर बुझ्दै सहायक प्रजिअ पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पुर्याइने जानकारी दिनुभयो ।
हस्ताक्षर संकलन कार्यक्रममा भूमिहीन, सुकुम्बासी तथा किसानको उल्लेख्य सहभागिता थियो । सो अवसरमा ११ हजारभन्दा बढीको हस्ताक्षर संकलन गरेर बुझाइएको छ ।