काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मका लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म म्याद थप हुनेछ ।
लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।