काठमाडौं । राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताएपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे मौन रहनुलाई रहस्यमय मानिएको छ ।
प्रत्यक्षदर्शीहरुले धामी तुइन तर्दै गर्दा एसएसवीले डोरी काटिदिएको बताइरहेका छन् । तर गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै मन्त्री खाँणले टोली धनगढीतर्फ गइसकेको र आवश्यक परे हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्याउँने पनि एसएसवीको संलग्नताबारे केही बोलेनन् ।
सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भन्दै प्रश्न गरेका छन् ।
गृहमन्त्री खाँणले आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानविन समितिलाई प्रभावित हुने गरी राय दिन नमिल्ने भन्दै पन्छिएका छन् ।
उता एसएसवीले सो घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको छ । गृहमन्त्रीको मौनताले कतै गृहको प्रतिवेदन पनि एसएसवीको संलग्नतामा मौन नै रहने त होइन भन्ने आशंका गर्न थालिएको छ ।
मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् । छानविन समितिलाई १० दिनको समय दिइएको छ ।
गत शुक्रबार व्याँस गाउँपालिकाका ३३ वर्षीय धामी दार्चुलास्थित महाकालीमा तुइनबाट तर्ने भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा उनी नदीमा खसेका थिए ।
यसअघि नै शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोसिस गरेको थियो ।
यसैवीच सो घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । आज सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो । संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।