काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही बिग्रिएका तत्वहरुका कारण प्रतिगाहरुमीको सरकार बन्ने स्थिति आएको बताउनुभएको छ । आइतबार ललितपुरस्थित तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
अध्यक्ष ओलीले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार एमालेभित्रैका निष्ठा बेच्नेहरुका कारण बनेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरु निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गए त्यसकारण प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आयो ।’ उहाँले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको तथा आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले माधव नेपाललाई बेसरमको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँचदलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । योभन्दा बेसरम के हुन्छ ?’
उहाँले ऋषिमुनिका कालखण्डमा यज्ञ र ध्यान पनि भत्काउने तथा बिगार्ने षड्यन्त्र हुने गरेको भन्दै अहिले पनि एमालेमाथि त्यस्तै षड्यन्त्र भइरहेको बताउनुभयो ।
उहाँले देउवा नेतृत्वको अहिलेको सरकार प्रतिगमनकारी भएको भन्दै सरकार गठनलगत्तै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताउनुभएको छ ।
वर्तमान सरकार निर्वाचनबाट नभई कुबाटोबाट आएको बताउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले दमनको सुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकार बनेलगत्तै प्रतिगामीहरुले दादागिरी सुरु गरे, यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’