काठमाडौँ । विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप नपाएर मानिस तड्पिरहेका बेला अमेरिकामा भने खोप लगाउन जाने व्यक्तिलाई नै १ सय डलर पुरस्कारस्वरुप दिने भनेको सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ । तर अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गर्नुभएको हो ।
उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लानअन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताउनुभएको थियो ।
यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी निर्देशन पनि जारी गर्नुभएको छ । बाइडनले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनुपर्नेछ ।