काठमाडौँ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा साउनमा आउने भएको छ । देशभरका जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले विद्यार्थीको विवरण अद्यावधिक गरिरहेको र विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन साउन मसान्तमा मात्र आउने भएको हो ।
परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन मसान्तमा मात्र नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको बताउनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उहाँले जानकारी दिनुभयो । समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिए पनि अहिलेसम्म आइनपुगेकाले नतिजा प्रकाशन गर्न ढिलाइ हुने उहाँले बताउनुभयो ।
देशभरका जिल्लाबाट सबै विवरण आएपछि बार्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्नेछ । यसका साथै असारमा आएको बाढीपहिरोका कारण धेरै विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्नको कार्य नै पूरा गर्नसमेत समस्या भएको गुनासो बोर्डमा आएको जानकारी अधिकारीहरूले दिएका छन् । बोर्डले असार २० भित्र एकाइमा आफ्नो विवरण बुझाउने समयसीमा दिएको थियो । हाल समन्वय एकाइमा विद्यालयबाट प्राप्त विद्यार्थीको विवरण रुजु गर्ने काम चलिरहेको छ ।
बोर्डको आन्तरिक तयारी हेर्दा एसईई दिएका विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुन भदौ लाग्ने भएको छ । साउन मसान्तसम्म परीक्षाफल प्रकाशन गर्नका लागि समय लाग्ने अवस्थामा भदौबाट मात्र कक्षा सञ्चालन हुने देखिएको हो ।




















