काठमाडौं । आज बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ स्वीकृत गरेको छ।
गृहमन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,२०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक व्यूरो गठन तथा परिचालन कार्यविधि,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि, २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्वीकृत गरेको हो।
गृहमन्त्री खगराज अधिकारीको अघ्यक्षतामा बसेको बैठकले विपद् नियन्त्रण तथा उद्दारमा सबै मन्त्रालयलाई परिचालन गरेर काम गर्ने निर्णय गरेको छ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नंम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ।
बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ ।
सिन्धुपाल्चोकमा हिजो साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट भएको क्षतिको विवरणहरु आईरहेको मन्त्रायले जनाएको छ ।
सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरि तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलार्इ निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।



















