काठमाडौँ । एमआईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीको उपचारका लागि थप तीन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले संक्रमितको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा नेपालीहरुको जीवन रक्षाका लागि आपतकालीन सहयोगस्वरुप दुई सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई प्रदान गर्न लागेको हो ।
अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले ती सामग्री शनिबार साँझ काठमाडौ आइपुगेको बताइएको छ । फाउण्डेसनले गत वर्ष नेपालका कोरोना प्रभावितको सहयोगका लागि रु तिन करोड सहयोग गरेको थियो ।
फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोनासँग लडिरहेका नेपालीहरुको जीवन रक्षाका लागि आफ्नो दायित्वबोध गरेर यो रकम सहयोग गरेको बताउनुभयो । फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेका संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले बताएको छ ।

























