कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकालाई शुक्रबार पाँच/पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताउनुभयो । कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ । यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिनुभयो । यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।