ललितपुर । वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ ‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तकको लोकार्पण गर्नुभयो ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित उक्त पुस्तक नेपाल जापान कल्चरल एक्सचेन्ज एशोसियशनले प्रकाशन गरेको हो ।
पुस्तकमा बुद्ध धर्म र दर्शनका आधारभूत विषयका साथसाथै दुई मुलुकबीच धार्मिक र साँस्कृतिक सम्बन्ध विस्तारमा उल्लेख्य योगदान दिने ऐतिहासिक जापानी तथा नेपाली धर्मगुरु एवं व्यक्तित्वहरुको चर्चा गरिएको छ । ती व्यक्तित्वहरुमा ई. सं. १८९९ मा नेपाल भ्रमणमा आउने जापानी भिक्षु इकाइ कावा गुची, निचिदात्सु फुजि गुरु, प्रो. केञ्जो टाँगे, दाइसाकु इकेदा, भिक्षु मोरियोका सोनी, भिक्षु युनाताका नावातामे र भिक्षु स्युचो ताकाओका छन् । बेला बेलामा जापानको भ्रमण गरी जनस्तरमा द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन र बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहयोग जुटाउन भूमिका खेल्ने भिक्षु अमृतानन्द, भिक्षु सुमंगल, भिक्षु ज्ञानपूर्णिकका साथसाथै जयपृथ्वी बहादुरसिंह, मीनबहादुर गुरुङका त्याग र सङ्घर्षका प्रसङ्गहरु पुस्तकमा समेटिएका छन् । दुई मुलुकबीच ई. सं. १९५६ मा दौत्य सम्बन्ध कायम भएको हो ।
पुस्तकमा बौद्ध विहारहरुको पुनःनिर्माण, प्राचीन बौद्ध ग्रन्थहरुको संरक्षण एवं अभिलेखीकरण र लुम्बिनीको विकासमा जापानबाट प्राप्त सहयोगको विस्तारपूर्वक चर्चा गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध अन्तर्राष्ट्रियवादको केन्द्रको रुपमा विकास गर्न नेपाल र जापानले मिलेर काम गर्नुपर्ने निचोडमा लेखक पुग्नुभएको देखिन्छ ।
सो अवसरमा सँस्कृतिविद् जोशीले धर्म मात्र जपेर आफ्नो कर्तव्यबाट विमुख हुँदा नेपाल विकासमा पछि परेको अनुभव सुनाउँदै जापानी जनताले धर्म र पुर्खाको सम्मान सँगसँगै कर्तव्यलाई पनि आत्मसात् गरेका कारण सम्पन्न मुलुकमा दरिन पुगेको हो भन्नुभयो ।
राणाकालमा विदेश गई सीप सिकेर आएका कतिपय नेपालीले सामाजिक बहिष्करण व्यहोर्नु परेको स्मरण सुनाउँदै उहाँले भन्नुभयो – ‘हामीले रुढिवादी सोच बदल्नुपर्छ । अहिले चलनचल्तीमा दलित भनिन्छ । पहिले यो शब्द थिएन ।’
नेपाल र जापानबीचको सम्बन्धलाई कला, संस्कृति र धार्मिक गतिविधिसँग जोडेर उजिल्याउन लेखकले गर्नुभएको प्रयास सराहनीय भएको पनि उहाँले बताउनुभयो ।
पूर्व राजदूत लेखक श्रेष्ठले नेपाली जनता र यहाँका सम्पदाहरुप्रति जापानीहरुको प्रेम र आत्मीयता रहेकाले उनीहरु दोहो-याई दोहा-याई नेपाल भ्रमणमा आउने र यहाँको पूवार्धार विकासमा आर्थिक सहयोग दिने गरेको उल्लेख गर्नुभयो ।
बौद्ध विद्वान तथा लोट्स एकेडेमिक कलेजका प्राचार्य धर्मसुन्दर बज्राचार्य र सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।