काठमाडौं । नेपाल सरकारका वरिष्ठ सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार सचिव पुष्करलाई काठमाडौंको कपनस्थित निवासबाट नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको थियो । उनीमाथि ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको तथा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको आरोपमा सोधपुछ गरिएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरिएको थियो । तर सोधपुछका क्रममा आपराधिक मुद्दा चलाउनुपर्ने पर्याप्त आधार फेला नपरेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
सचिव पुष्कर नेपाल सरकारका वरिष्ठ प्रशासकमध्ये एक मानिनुहुन्छ। २०८२ साल मंसिर ९ गते तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको अवकाशपछि उनी मुख्यसचिव पदका प्रमुख दाबेदारमध्ये रहेका थिए । यद्यपि सरकारले उक्त पदमा सुमनराज अर्याललाई नियुक्त गरेको थियो ।
घटनाबारे सम्बन्धित निकायबाट औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। हाल सचिव पुष्करमाथि कुनै आपराधिक अभियोग दर्ता नभएको प्रहरी स्रोतले जनाएको छ।




















