काठमाडौं । चैत १३ गतेदेखि सुरु भएको वायु प्रदूषण अझै हटेको छैन । चैत १८ गते मुलुकका केही ठाउँमा पानी परेपछि घट्दै गएको वायु प्रदूषण फेरि बढेको छ । चैतको दोस्रो सातादेखि मुलुकका अधिकांश वनमा डढेलो लागेका कारण वायुको गुणस्तर खस्किएको हो ।
आईक्यू एअरका अनुसार मंगलबार दिउँसो काठमाडौं विश्वका ९४ सहरमध्ये प्रदूषणका हिसाबले पहिलो नम्बरमा छ । प्रदूषित सहरको सूचीमा भारतको दिल्ली दोस्रो, पाकिस्तानको लाहोर तेस्रो, बंगलादेशको ढाका चौथो र भारतको मुम्बई पाँचौँ स्थानमा रहेको छ ।
यसरी राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।
वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उहाँले भन्नुभयो, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उहाँ बताउनुहुन्छ । जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उहाँले सुनाउनुभयो । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिनुभयो तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन ।
काठमाडौँबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको अन्य सहरमा नेपालगञ्जको २३० र पोखराको २२२ सूचकाङ्क छ ।
विगत २४ घण्टामा सबैभन्दा बढी अस्वस्थकर वायु धनगढीमा ३७४, चितवनको सौराहामा ३०८ र भरतपुरमा ३०१ नम्बरमा उक्लिएको थियो । वायुको यो स्तर भनेको मानिसले घरबाहिर निस्कनै नहुने अवस्था हो । अन्य रोगले ग्रस्त भएका बिरामीका लागि यो वायु कालसरह मानिन्छ ।