काठमाडौँ । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ । सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा कायम भएको छ । आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो ।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो ।
त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याएको भन्सार दर १० प्रतिशतमा झारिएको छ । दर घटाएपछिको मूल्य समायोजन गरिएको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसपछिका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो । आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन् भने उपभोक्ताहरु हर्षित भएका छन् ।