काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दै छन् । चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका हुन ।
बीआरआईको ऋणको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’
चीनसँग नेपालको लामो र मित्रवत सम्बन्ध रहेको वताउँदै प्रधानमन्त्री ओलीले दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन भ्रमण गर्न लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पहिले जुन देशको भ्रमण गरे पनि सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्ने बताएका छन् ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् । प्रस्तावित तालिका अनुमोदन गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओलीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारीको लागि मंसिर १३ गते बेइजिङ जाने तयारी रहेको मन्त्री राणाले बताएकी छिन् । उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।