नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताकै सबभन्दा बढी हो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ३४ हजार ४०६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ ।