बेरूत । सिरियामा एक दशक पहिले शुरू भएको गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ ।
बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको तथ्याङ्कअनुसार द्वन्द्वका कारण एक लाख १७ हजार ३८८ नागरिकको मृत्यु भएको र तीमध्ये २२ हजारभन्दा बढी बालबालिका रहेका छन् ।
सन् २०२० मा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या युद्ध सुरू भएपछिको करिब एक दशकको अवधिमा सबैभन्दा कम रहेको संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।
यो वर्षको उत्तरपश्चिमी सिरियामा युद्धविराम भएको कारण रूपमा युद्धका घटनामा कमी आएको र उक्त समय विश्वव्यापी महामारीका कारण सिरियामा पनि यस प्रकारका गतिविधि कम भएको बताइएको छ ।
सन् २०११ मा सरकारविरोधी प्रदर्शनमाथि क्रुर दमनपछि द्वन्द्व थप चर्किएको र कारागार र नजरबन्द तथा हिरासतमाहरूमा कम्तिमा १६ हजार व्यक्तिको मृत्यु भएको अभिलेख सरकारको रहेको छ ।
यद्यपि मानव अधिकारवादी संस्थाहरूले उक्त सङ्ख्याभन्दा निकै बढी अर्थात् ८८ हजार मानिसहरूले सरकारी जेल तथा हिरासतमा ज्यान गुमाएको दावी गरेका छन् ।
सन् २०१५ पछि रूसी सहयोगमा बसर अल असदको नेतृत्व रहेको सरकारले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त बनाएपछि अहिले सरकारको नियन्त्रणमा ६० प्रतिशत भूभाग रहेको तथ्याङ्क रहेको बताइने गरिएको छ ।
उत्तर प्रदेशको इदलिबको अन्तिम विद्रोही क्षेत्र, उत्तरी सिमानामा टर्कीले नियन्त्रण गरेका क्षेत्रहरू र युएस समर्थित कुर्दिश सेनाको नियन्त्रणमा रहेको देशको उत्तरपूर्वी भागहरू सरकारको पहुँचभन्दा बाहिरको क्षेत्रहरू हुन् ।
युद्धले मुलुकको आधा भन्दा बढी जनसंख्यालाई आफ्नो घर छोड्न बाध्य तुल्याएको छ । युद्ध अनुगमनकारी संस्थाका अनुसार सिरियामा लगभग दुई लाख मानिस वेपत्ताको सूचीमा रहेका छन् ।
सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाले बताएको छ ।
संस्थाले गत डिसेम्बरमा उपलब्ध गराएको तथ्याङ्कमा सिरियामा गृहयुद्धमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार रहेको थियो ।