सियोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुवै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनै लाग्दा यस्तो सहमति भएको हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिनुभएको थियो ।
आणविक हतियारधारी उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षित राख्न अमेरिकाले हाल २८ हजार ५०० सैनिक तैनाथ राखेको छ । उत्तर कोरियाले सन् १९५० मा दक्षिण कोरियामाथि धावा बोल्नुका साथै केही समय नियन्त्रणमा लिएको थियो । पूर्व राष्ट्रपति ट्रम्प प्रशासनले सैनिक बन्दोबस्तका लागि दक्षिण कोरियाले वार्षिक पाँच अर्ब डलर बुझाउनुपर्ने कडा शर्त राख्दै आएको थियो । यो रकम वृद्धि झण्डै पाँच गुणा बढी हो ।
सन् २०१९ मा समाप्त भएको विगतकै सम्झौता बमोजिम दक्षिण कोरियाले वार्षिक ९२ करोड डलर भुक्तानी गरिरहेको छ । कोरियाली विदेश मन्त्रालयले दुवै मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको जनाएको छ, तर रकमका बारेमा केही उल्लेख छैन । अमेरिकासँग भएको सम्झौतालाई दक्षिण कोरियाली संसदले अनुमोदन गर्नु पर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया, चीन, इरान र उत्तर कोरियाबाट सिर्जित चुनौतीसँग लड्न अमेरिकाका पूर्ववर्ती साझेदार मुलुकहरुसँगको सम्बन्ध पुनर्जीवित गर्ने यसअघि नै बताइसक्नुभएको छ ।
अमेरिकी विदेश मन्त्रालयबाट गरिएको ट्वीटमा पनि अमेरिकी गठबन्धनलाई अझ सुदृढ गरिने उल्लेख गरिएको छ । तर ट्वीटमा दक्षिण कोरियाले कति रकम अमेरिकालाई भुक्तानी गर्दैछ भन्ने उल्लेख गरिएको छैन । सम्झौता भएलगत्तै सोमबारदेखि नै वार्षिक संयुक्त सैन्य अभ्यास शुरु भएको छ । तर कोरोनाभाइरस महामारीका कारण यस सैन्य अभ्यासलाई सानो बनाइएको छ, र व्यापक सैन्य उपस्थिति र भारी हातहतियार रहने छैनन् ।
दक्षिण कोरियाका प्रधान सेनापतिले अमेरिका र कोरियाली सैन्यबीच कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अभ्यास हुन लागेको जानकारी दिनुभयो ।