काठमाडौं । स्वीटजरल्याण्डमा अबदेखि सार्वजनिक ठाउँमा अनुहार छोप्न नपाइने भएको छ । स्वीटजरल्याण्डमा सार्वजनिक स्थलमा मुस्लिम समुदायका महिलाले बुर्का वा निकाब लगाउन पाउने छैनन् ।
बीबीसीका अनुसार आइतबार सम्पन्न जनमत संग्रहमा ५१.२ प्रतिशत सर्वसाधारणले सार्वजनिक स्थलमा निकाब वा बुर्का लगाउन नहुने पक्षमा मतदान गरे । ४८.८ प्रतिशतले सार्वजनिक ठाउँमा बुर्का वा निकाब लगाउन हुने मतदान गरे । स्वीटजरल्याण्डको पिपुल्स पार्टीले अतिवाद रोक्ने अभियानका क्रममा सार्वजनिक स्थलमा बुर्का वा निकाब लगाउन प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव ल्याएको थियो । सो प्रस्तावमा आइतबार जनमत संग्रह भएको थियो । स्वीटजरल्याण्डको इस्लामिक समूहले भने मुस्लिमका लागि जनमत संग्रहको परिणाम आएको दिनलाई कालो दिनको रुपमा व्याख्या गरेको छ ।
८६ लाख जनसंख्या रहेको स्वीटजरल्याण्डमा करिब पाँच प्रतिशत इस्लाम समुदायका छन् । टर्की, बोस्निया र कोसोभाबाट स्वीटजरल्याण्डमा इस्लाम समुदायका व्यक्तिहरु बसोबास गर्दै आएका छन् ।