काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले विप्लव समूहका हिरासतमा रहेका नेता तथा कार्यकर्ताहरुलाई छाड्न परिपत्र जारी गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रमार्फत् प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु-याएर छाड्न निर्देशन दिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरु धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतका नेता तथा कार्यकर्तालाई छाड्ने तयारी गरिएको छ ।
त्यसैगरी अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत गृहले निर्देशन दिएको छ ।
उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु-याएर छाड्न आजै निर्देशन भइसकेको छ । शुक्रबारसम्ममा चारजना नेतालगायतका नेता तथा कार्यकर्ताहरुलाई छाड्ने तयारी भइरहेको छ । अन्य व्यक्तिहरुको हकमा सहजीकरण हुने भएको छ । अन्य उपल्ला तहका नेताहरु सबैलाई अहिले नै छोड्ने भन्ने नभए पनि अदालतमा विचाराधीन मुद्दा भएको हकमा पनि सहजीकरण हुने बताइएको छ ।