काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आज आयोजनाको गरिएको एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गर्नु भएको छ ।
आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना मुख्यरूपमा सिँचाइ र विजुली उत्पादनमा केन्द्रित रहेको छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको बताइएको छ ।
यो आयोजनाले २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानलाई ठूलो मद्दत पुग्ने छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले बताउनु भयो ।
यो आयोजनामार्फत तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने छ ।
करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ र अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको बताइएको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्ने बताइएको छ ।
तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिने बताइएको छ ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेको छ ।
आयोजनाको फिल्ड सम्पर्क कार्यालय सिन्धुलीका वरिष्ठ भूगर्भ जलविज्ञ विश्वबन्धु केसीले तयारीको काम गर्न केही समय लाग्ने र दुई÷तीन महिनापछि मात्रै कुसुमटारबाट सुरुङ खन्न सुरु गरिने बताउनुभएको छ ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ । तराई मधेसको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ भने टनेल बोरिङ मेसिन (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ ।
दुई वर्षभन्दा कम समयमा नै सुरुङ निर्माण गरिसक्ने योजना रहेको छ । सुनकोशी मरिण आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायतका प्राविधिक सबै काम सकिएको छ । २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको छ ।
सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सब–स्टेसनमा जोडिने आयोजनाले जनाएको छ ।