काठमाण्डौ । जनसङ्ख्या र विकास, त्यसमा परेको प्रभाव र जलवायु परिवर्तनले गरेका असरलगायत विषयमा एशियाली सम्मेलन काठमाण्डौमा शुरू भएको हो । हिजोदेखि शुरू भएको सम्मेलनमा ३० देशका पाँच सय प्रतिनिधिहरू भेला भएका छन् ।
एशियाली जनसङ्ख्या सङ्घ (एपीए) र त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) को संयुक्त आयोजनामा शुरू भएको छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन पर्सि शनिवारसम्म चल्नेछ ।
सम्मेलनमा जनसङ्ख्या सँगसँगै एशियाको जनसाङ्ख्यिकी अवस्थाका विभिन्न पक्षका बारेमा छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) का प्रमुख प्रा. योगेन्द्रबहादुर गुरूङले जानकारी दिए ।
सम्मेलनमा विषय विज्ञहरूबाट जनसङ्ख्या, बसाइँसराइ, प्रजनन् तथा मृत्युदरलगायका विषयमा विश्वका देशको अवस्थासहितको तथ्याङ्क विश्लेषण हुने हुँदा अनुभव आदानप्रदान र एक देशले अर्को देशको अवस्थाका बारेमा जानकारी हासिल गर्न सक्ने उनको भनाइ छ । उनले जलवायु परिवर्तनका कारण जनसङ्ख्यामा परेको असरका विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिए ।
नेपालमा जनसङ्ख्यासम्बन्धी नीति संशोधन गर्ने चरणमा रहेकाले सम्मेलनको निष्कर्ष त्यसका लागि सहयोगी हुने विश्वास लिइएको छ । सम्मेलन आयोजक समितिका सदस्य सीडीपीएसका सहप्राध्यापक एवम् नेपाल जनसङ्ख्या सङ्घ ९पान०का अध्यक्ष पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनमा विश्वका जनसङ्ख्याविद्, नीति निर्माता, अनुसन्धाता, विद्यार्थीलगायतको सहभागिता छ ।
यहाँ प्रस्तुत हुने १७ वटा विषयमा प्रजननदर, मृत्युदर, बसाइँसराइ, र त्यसमा प्रत्यक्ष र परोक्षसम्बन्ध राख्ने शहरीकरण, जनघनत्व, जलवायु परिवर्तन, लैङ्गिकता, प्रजनन स्वास्थ्यलगायतका विषयहरू समावेश छन् ।
सम्मेलनमा नेपालको समग्र जनगणनाको तथ्याङ्कका आधारमा जन्मदर, मृत्युदर र बसाइँसराइको विश्लेषण हुनेछ । त्यसका साथै नसर्ने रोगका सन्दर्भमा मुख्य गरी पार्किन्ससको समस्या जल्दोबल्दो रूपमा भइरहेकाले त्यस विषयमा छलफल हुने खतिवडाले जानकारी दिएका छन् ।