काठमाडौँ । म्यान्मारमा बुधबार सैनिक ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ ।
म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताउनुभयो । बुधबारको घटनापछि ब्रिटेनले शुक्रबार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ ।
बीबीसीका अनुसार सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभर सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् ।
म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ । राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताउनुभयो । उहाँका अनुसार एउटा भिडियो क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयम्सेवकको टोलीलाई पिटिरहेको देखिन्छ ।
सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ । उक्त चुनावमा नेतृ आङ सान सूकीको दल नेशनल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो ।
सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन । उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाका बीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधबार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन् । सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ ।