काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु¥याउने ऐनहरुलाई संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै सोमवार उहाँले प्रधानमन्त्री केपी ओलीसँग भेटेर ऐनहरु संशोधन गर्नका लागि छलफल गर्ने बताउनु भएको छ ।
जडिबुटी खेती कार्यक्रमलाई सहकारीमार्फत संचालन गर्नका लागि मन्त्रालयले नीतिगत व्यवस्था गर्ने समेत उहाँले बताउनु भयो । बन तथा वातावरणमा पनि सहकारीमार्फत युवालाई जोड्न सकेको खण्डमा दिगो हुन्छ भन्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो । सहकारीमा रहेका युवालाई वन तथा वातावारणको संरक्षणमा समेत जोड्ने गरी नीतिगत व्यवस्था गर्नका लागि सहकारीसँग बसेर छलफल गर्न सकिने उहाँको भनाई थियो ।
युवा उद्यमशिलता विकासका लागि सहकारीलाई परेको अप्ठ्यारो फुकाउँदै अगाडि बढ्ने बढ्न सरकार तयार भएको उहाले बताउनु भयो ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले भोकमरी र गरिवी निवारण गर्ने कार्यमा सहकारीको योगदान रहेको बताउनु भयो । उहाँले युवा स्वरोजगार सिर्जनाका लागि सहकारीको योगदान बृद्धि गर्न अभियान लागि परेको बताउनु भयो ।
महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले युवामा उद्यमशिलता क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले देश विकास युवाको सिर्जनात्मक उद्यमशिलताबाट मात्र सम्भव भएको बताउनु भयो ।
महासंघका संचालक तथा युवा उपसमित संयोजक सागर ढकालले निजी क्षेत्रबाट व्यवसाय संचालन गर्न सजिलो भए पनि सहकारीमार्फत व्यवसाय संचालन गर्न कठिन भएको बताउनु भएको छ । उहाँले सदस्यलाई प्रोजेक्ट बेसमा ऋण दिनसक्ने अवस्था बनाउनुपर्ने बताउनु भयो ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले सहकारीको नेतृत्व तहमा युवा समावेश गर्नुपर्नेमा जोड दिनु भएको छ ।