सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताउनुभएको छ ।
राष्ट्रपति मुनले दक्षिण कोरिया दुई देशबीचका ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ ।
जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको दक्षिण कोरियाका राष्ट्रपति मुनले बताउनुभयो । दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँले राष्ट्रिय टेलिभिजनबाट गर्नुभएको सम्बोधनका क्रममा सो विचार राख्नुभएको हो । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो ।
राष्ट्रपति मुन जाय–इनले दुवै देशले वार्ताको टेबलमा बसेर अनेक समस्याको समाधानमा प्रयास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरुका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौनदासीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मुद्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरु बढ्दै आएको छ ।
यी विषयहरुमा समय-समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानको प्रयास गरेको भए पनि अहिलेसम्म सम्भव हुन सकेको छैन । पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपन उत्पन्न भएको छ । त्यसैले दक्षिण कोरियाली राष्ट्रपति मुनले सो आह्वान गर्नुभएको हो ।