पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा आज पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बार्षिक प्रतिबेदनपारित गर्नुकासाथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकले २२ औँ साधारण सभा समाप्त गरे संगै आजैको मितिबाट आफ्ना सेयरधनिहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको जनाएको छ ।
बैंकले गतआर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।