बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले तयार पारेको कोभिड–१९ विरुद्धको खोपलाई वेलायतले अनुमति दिएको छ ।
‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ वेलायत सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । फाइजरले बेलायतले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिनु कोभिड–१९ विरुद्धको युद्धमा ऐतिहासिक पल भएको बताएको छ ।
युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत रुपमा अनुतिका लागि निवेदन दर्ता गरेको थियो ।
दुबै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (इएमए) मा औपचारिक निवेदन दिइएको उल्लेख छ ।
गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिइरहेको छ ।
फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान समेतका मुलुकहरूका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।
























