काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताएका छन् ।
अर्को व्यवस्था नभइन्जेलसम्मका लागि शाक्यलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । सचिव घिमिरेका अनुसार एनईए इन्जिनयिरिङ कम्पनीबाट काज फिर्ता भएपनि शाक्य वरिष्ठ उपकार्यकारी निर्देशक भएकाले वरिष्ठताका आधारमा जिम्मेवारी दिइएको हो ।
प्राधिकरणमा तहगत जिम्मेवारीका विषयमा असन्तुष्ट रहेका शाक्य आफुभन्दा कनिष्ठ लेखनाथ कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि कार्यालयमा उपस्थित भएका थिएनन् ।
बरिष्ठताका आधारमा शाक्य लेखनाथ कोइरालामाथि माथिल्लो तहमा पर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठलाई पन्छाएर कनिष्ठलाई निमित्त कार्यकारी निर्देशक बनाइएको भन्दै ऊर्जामन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए ।
ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए । सो निर्देशन अनुसार कोइरालाले आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन शाक्यलाई निर्देशन दिएका थिए ।
प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको एनईए इन्जिनियरिङ कम्पनीको प्रवन्ध निर्देशक रहेका उनी प्रसारण लाइनको विषयमा राम्रो जानकार मानिन्छन् । एनईए इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ सालमा स्थापना गरिएको प्राधिकरणको सहायक कम्पनी हो ।