काठमाडौँ । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विश्वका विभिन्न ७७ मुलुकका छ हजारभन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय सङ्घ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यही १२ नोभेम्बर २०२० मा भएको अनलाइन चुनावमा पाण्डेले मलेसियाका प्रतिद्वन्दी फइज फधिलिल्लाहलाई पराजित गरेका हुन ।
त्यस्तै भियतनामका उम्मेद्धार हाई होे र कम्बोडियाका प्रतिस्पर्धी डा. सोखोम थोकविरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् । वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्ने बताइएको छ ।
एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर– सर्मिट एयर, डाइरेक्टर–अलफ्ट काठमाडाँै होटल, छायाँ सेन्टर प्रालिका निर्देशकका रुपमा समेत कार्यरत पाण्डे यसअधि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालको अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाइन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव, नेपाल पर्यटन वोर्ड कार्यकारी सदस्यमा कार्यरत थिए साथै विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको शुरुवात तथा विस्तार, २०७२ सालको भूकम्पपश्चात सङ्कट व्यवस्थापन तथा पर्यटन पुनःउत्थान कार्यक्रमको तर्जुमा, प्रथम हिमालयन ट्राभल मार्ट–२०१७ मा विशेष भूमिका निर्वाह गरेका पाण्डेद्वारा प्रवद्र्धित स्काई डाइभिङ्ग तथा सन् २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको मन्त्रिपरिषद बैठक नेपाली पर्यटन क्षेत्रकै स्मरणीय विषयहरु पर्दछन् ।