काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु¥याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो ।
निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भएतापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवाप्रवाहलाई निरन्तरता दिइएकोमा मङ्गलबारवाट उक्त सेवा सकिएको जनाईएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीको बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न सेवा प्रदायकलाई थप समय दिइएकोमा उक्त समय मङ्गलबारबाट सकिएको छ ।
उहाँका अनुसार अब ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महशुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्नेछन् ।
प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाका (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंङ्गा र सिन्धुली) इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु¥याउन विभिन्न सेवा प्रदायकसँग सम्झौता गरेको थियो ।