काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितसँगै मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भए हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।
आज मृत्यु हुनेहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एक/एक जना महिला छन् भने उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक/एक जना पुरुष छन् । २४ घण्टाको अवधिमा कोरोना संक्रमित मृतकको यो संख्या हालसम्मकै उच्च हो ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रिमत थपिएका छन् । काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको यो संख्या हालसम्मकै बढी हो । उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ।



















