काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उक्त संक्रमित भेटिएका हुन । आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३ सय १० जना पुगेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन् । योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म ७०.७ प्रतिशत कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताएका छन् । हाल ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै गत २४ घण्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार बाँके र पर्सामा १/१ र काठमाडौंमा २ जनाको मृत्यु भएको छ ।
बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिलाको उपचारको क्रममा साउन २५ गते मृत्यु भएको छ। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।
निमोनिया तथा सेप्टीक सक भई उनी साउन साउन २३ गते अस्पताल भर्ना भएका थिए। सोही दिन स्वाब नमूना संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा कोरोना परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ। उनको साँझ २५ गते नै कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार ती महिला उच्च रक्तचाप तथा प्लाराइलासिसका बिरामी समेत थिए।
यस्तै, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। मृत्यु भएकै दिन साउन २५ गते उनको कोरोना परीक्षण गर्दा पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भएपछि उनी साउन २३ गते अस्पताल भर्ना भएका थिए।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको २४ गते स्वाब संकलन गरिएपनि सोमबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी निमोनिया, उच्च रक्तचाप तथा मधुमेहका बिरामी समेत थिए।
काठमाडौं कीर्तिपुर ट्याङलाफाँटकएक ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ। निमोनिया तथा सेप्टीक सक भएपछि उनी असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनको साउन ५ गते कोरोना पुष्टि भएको थियो। उनी मिर्गौलाका दीर्घरोगी समेत रहेको मन्त्रालयले जनाएको छ।




















