काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थपिएका मध्ये काठमाडौं ८४ जना छन् । काठमाडौँमा ७५, ललितपुरमा ८ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो।
बिहीबार मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ६ हजार ६२२ जनाको पीसीआर परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि भएको बताएका छन्। योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण ६५ जनाको मृत्यु भएको छ ।



















