काठमाडौं । मुलुकमा कोरोना संक्रमण महामारी जारी रहेकै समयमा फेरी लकडाउनको त्रास बढेको छ । झण्डै चार महिना लामो लकडाउन खुलेपछि नेपाली जनताले राहातको महसुस गर्न पाएका थिए । असार २६ पछि केही खुकुलो बनाइएको बन्दाबन्दीलाई साउन ६ गते रातिबाट पुरै खुल्ला गरिएको थियो । लकडाउन खुल्ला भएसँगै संक्रमणको जोखिम पनि त्यतिकै बढिरहेको छ ।
मुलुकमा गएको असार १४ गते एकैदिन ७ सय ४० जनामा सर्वाधिक कोरोना भाइरस संक्रमणका बिरामी फेला परेका थिए । त्यसपछि त्यसको ग्राफ बिस्तारै तल झर्दै साउनको पहिलो सातामा दुई अंकमा आइपुगेको थियो । तर साउनको दोश्रो हप्तादेखि निरन्तर संक्रमित बढिरहेका छन । काठमाडौं बाहिर सप्तरीको राजबिराज, पर्साको बिरगंजमा संक्रमित हवात्तै बढेपछि लकडाउन गरिएको छ । शनिवारदेखि मोरङको बिराटनगर महानगरपालिकाले पनि लकडाउन गर्न लागिएको छ ।
यता काठमाडौं उपत्यकामा अहिले दैनिक संक्रमितको संख्या बढिरहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । शुक्रबार एकैदिन काठमाडौं उपत्याका ३८ जनामा संक्रमण भेटिएको छ । काठमाडौंमा ३३, ललितपरमा ५ र भक्तपुरमा १ जना संक्रमित भेटिएका हुन । यसरी संक्रमित बढनुमा भारतबाट नेपालमा रोजगारीका लागि आउनेहरु नै बढी पाइएको तथ्याङहरुले पुष्टि गरेको छ ।
केही दिन अगाडि भारतबाट काठमाडौं हँुदै ओखलढुङगामा पुगेका २५ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन । अहिले सुक्षाकर्मी र स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण भएको घटना निरन्तर बाहिर आइरहेको छन । स्याङजा र काठमाडौंमा ठुलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण भएको पुष्टि भइसकेको छ ।
साउनको पहिलो हप्तासम्म सुरक्षित मानिएको काठमाडौं उपत्यकामा अहिले दिनदिनै संक्रमितको संख्या बढनुले पनि संक्रमण समुदायस्तरमा प्रवेश गरेको होकी भन्ने आंशका बढाएको छ । तर सरकारले यो कुरालाई स्वीकार गरेको छैन ।
यता पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मुलुकभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । यसैगरीे निको भएर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ रहेको मन्त्रालयले जनाएको छ । मृत्यु हुने संक्रमितको संख्या ५६ रहेको छ ।
रातिको समयमा उपत्यका प्रवेशमा रोक
गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाइसकेको छ । जोखिम बढेकाले दिउँसोको समयमा समेत उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरिसकेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ । यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।




















