काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरीएको पीसीआर परीक्षणणमा थप २ सय २४ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको प्रवक्ता गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केको प्रवक्ता गौतमले बताएका छन् । यससँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।
यसैवीच पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सवै पर्साका हुन । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५६ वर्षीय एक पुरुष, ३५ वर्षका अर्का पुरुष र ६५ वर्षका अर्का पुरुषको बिहीबार मृत्यु भएको हो । उनीहरुको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
त्यस्तै पर्साबाट काठमाडौं आएकी ६५ वर्षीया महिलाको आज मृत्यु पाटन अस्पताल ललितपुरमा मृत्यु भएको छ । साउन ६ गते अस्पताल भर्ना भएकी महिलामा उच्च रक्तचाप, निमोनिया र छातीको इन्फेक्सनको समस्या समेत रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।



















